Wednesday, September 21, 2011

कविता

~ स्वनिर्भरताको आह्वान ~


नुत्से हिमाल चिथारेरै
सगरमाथा पुग्नु छ l
अहिले सम्म नचढिएका
हिउँलेक खोस्रेर अब,
लाग्नु छ उकालो-

कुर्ने होइन साथी !

प्रकृतिक प्रलयको
-प्रकृति प्रकोप अग्रिम ज्ञान-
आलय सृजना गरेर
बाँच्ने आधार कोर्नुछ l

अठारौँ शताब्दीको फड्के
उखेलेर फालिदेऊ !
२१सौं शताब्दीका बिपनाहरु
आइनस्टाईं भएर जन्मिन्छन् l
अचेतको टाँडमुनि सुक्सुकाएर
भवितव्यमा आँशुहरु नपोखाउनू !

भाववेदनाका जुलुसहरुमा
आफूलाई समर्पण गर !
यो धर्ती तिम्रै हो,
तेसो र यही धर्तीमा विज्ञान छ l
उम्रिन्छ- फूल्छ -फल्छ-
दिमागी दैलो उघारेर हेर !
देश बाहिर कहाँ छैन दैवी प्रकोप ?
सयौं मुटु टुक्रिएर झरे होलान्
आँशुको नदिमा कति मरे होलान् ?
सुन ! बोलेका छन् त्यहाँ चट्टानहरु
र त बलेका छन् हिउँका पहराहरु-

..
रातो पासपोर्ट बोकेर
देशको सपना खोज्नेहरुसंग
नसाट अब,
आशा र भरोसाहरु-
तन्नेरी रहर र कुमारी वैंशहरु-
काटिएका पाखुरीहरुले
चेतनाको मुट्ठी उज्ज्याएर
दिर्घगामी बनाउँदै,
स्वचिन्तनको गीत गाउँदै-गाउँदै
यो चिहानघरीमा उकालेर
प्रविधिशालाको सिर्जना गर्नू !
र बाँच्नु-बचाउँनू आफ्नै छाती र टाउको l
युद्धै युद्धले समवेदना हराएको देशमा l

No comments:

Post a Comment