Sunday, March 13, 2011

~विराग अर्पण~

मृग नयनी आँखाका
अनुरागी भाखाहरुलाई
फूल र पराग सम्झेर,
दिन रात तल्लिन रहेँ !
माहुरी जस्तै '' घुमी रहेँ
 
अहिले जीवनको ऐना अगाडी
उभिएर हेर्दा आफुलाई
फगत एउटा मान्छे देखें
प्रतिबिम्बमा तिमी छटपटियौ।
आफुले आफैलाई सोचें,
तिम्रो मनको घाउ
निको पार्न अब,
मेरो क्रुर विम्ब लुकाएर,
आजीवन उपासिन्छु।
 
मेरो नपुंसक मस्तिष्कले
तिम्रो लागि मायाको भाव
जन्माउन सकेन,गर्भ मै तुहियो।
तिम्रो मुटुको रक्तनलीहरु
अब सबै सबै चुडाउनू !
 सोचले स्नायूतन्तुहरुलाई
पक्षघात बनाउनू !
कि,कहिल्यै सपनाको आभासले
मेरो स्मरण नगराओस्
अमुर्त प्रेमको हत्या नगर्नू !
किनकि
आजन्म पश्तापको कैद हुने छौ।
 
रहरहरुलाई धाप मार्दै,
इच्छाका कापमा तिमीलाई भेटें
घामको लाली टिपेर
लगाईदिन खोज्दा
इन्कारको तगारोले म छेकिएँ।
मैले पूर्णिमाको जून ओढेर
मौसमी आकांक्षाहरुको
खास्टो ओछ्याँउदा
चैते डढेली मनले आगो लगायौ।

बेमौसमी झरी पर्दा,
बाछिटाले भिजेको
मनको खोपा सुकेन
म चाहन्थें........तिम्रो धारिलोपनले
म पनि धारिलो हुन सकुं
खुशीका फूल टिप्न
राज्यबासीहरु आऊन्
तर बेलाको बोलीले,
म छाँटिएँ,काटिएँ,साटिएँ।
घडी पलाको लागि मात्र
म जाकटीमा राखिएँ
मगजको श्रमले.........
आफैलाई उकास्न सकिन।
 
तिम्रै अस्विकारमा,
इच्छाहरु धेरैचोटी आधापिल्चो भए,
कल्पित मन सेरिएर
एकान्तमा हत्या भयो।
फेरि,मैले सहें,,,म रहेँ,,,
निस्फिक्री सम्झौताको कारागारमा
 
स्वच्छन्दवादी दर्शनको ताल्चाले
आत्मिकी पिजडा खोलेर
अब मलाई रिहा गर्यौ।
भावनाको हत्कडी लाएर
यो शहरबीचमा छोड्यौ।
ठिकै छ,
म समयसँग सम्झौता गर्छु।
तिम्रो खडेरी मनसँग,
तिम्रो सुख भावसँग,
तिम्रो तिक्त चापसँग,
केवल
हृदयको रारामा मेरो नाम तैरेर
स्मृतिका छल्कोहरु
कहिल्यै नछल्किउन्।
 
कयौं मेरा रातहरुमा
काँडा बिछ्याई दियौ,
भोकको दिनहरुमा
बरफको गाँस दियौ,
तिम्रो अनुष्ठान
आज सकिएको छ।
बिच्छेदको हिउँले
कठयङ्ग्रिएको छु।
 
मेरो यातनाको म्याद
आज पुरा भएको छ।
विकल्पमा कुनै शेष छैन।
केवल छ त, मेरो कार्जे...
खुशीको अन्त्येष्टि भएकोमा
तिम्रो पुनर्जन्मको लागि
म आजीवन उपबास बस्छु।
 
तिमीलाई दिन उपहार दिएँ,
रातमै म उज्यालो जीवन खोज्छु
मन्द पवनको स्पर्श
निस्फिक्री लैजाउ,,,,,,
आँधीमै तिमीलाई छाम्नेछु
तिमीले दिएका क्रन्दनहरुमा
तिम्रो स्पन्दन खोजुँला,,,,,,
जीवनका रंग औंलाहरुमा नियालेर
अक्षरहरुसंग तिम्रो साथ मागूँला !

धेरै आँशुका नहरहरू
बेमेलको बगरमा पोखिए
अब,,,रहरका फूलहरु कुल्चेर
ब्रम्हाण्ड फुल्ने
एउटा कल्पवृक्ष रोप्न
मरुभूमिको जोखिम उठाउँछु !

No comments:

Post a Comment