पोखिएको गाग्री जस्तो म त आज रित्तो भएँ
बाछिटाले हानी हानी भत्किएको भित्तो भएँ
आशा छर्दा खुसी फल्थे जब थिएँ आबादी म !
अहिले पो रुखिएर काटिएको कित्तो भएँ
आकाशको यात्रा गरि सोचें जून टिपी झार्छु
आज खाली धरतीको छाती नाप्ने फित्तो भएँ
उमेरको बहीखाता पल्टाएर रुजु हेर्दा
फगत् आफ्नै दुई दिने बैंश नाप्ने बित्तो भएँ
No comments:
Post a Comment