Sunday, March 13, 2011

~इजरायलमा रहँदा मेरो देश र लुंग्वाको झल्को~

हौ लुंग्वा!
अर्धचेत ओढेर निदाएछौँ
र हामीलाई समयले नै थिचेछ।
आफ्नो देश्को प्रत्येक सिमाहरुमा
हर बिहान मुट्ठी उज्याएर चिच्याउने
इजरायलीहरु देखेर म ब्युँझिदैछु।
डर लाग्दो सपनाको झस्को-
अर्धचेतन विष्फोट/उन्मुख चेतनको बज्र
यो औंशीले ढाकेको सन्त्रासको चिहनमाथी
चार प्रहर छुट्ट्याउन-
कर्तव्यको खोंगीबाट उघारेर छोडी दिन्छु-
म युग बास्ने आधुनिक भाले!

हौ लुंग्वा !
मगमगाउँदो तिम्रो मिक्चिरिम्मा फूल-
आहा !सुवासमा-परागमा
अचेल भरि-भरि रागमा
जैतुनको डाँडामाथि घाम जूनले चुम्बन गर्छन्।
ठिक ! उहीबेला,
मनको ढाकरमा स्वऐन्द्रिक सामल कोचेर
गोर्की समयको भन्ज्याङ काट्न
जिन्दगीलाई धकेल्दै अक्कर चढ्दो छु।
 
हौ लुंग्वा !
बेथहेलेम् शहरको छातीमाथि
अब्राहमको समाधी र जिजसको शिलाकृति सुम्सुम्याउदा
ठाउँको ठाँउ शहिद भएका अनाम देशपुत्रहरुलाई सम्झिएँ।
कि अर्थको एक छेस्को आशा बोकेर
पस्चिमपर्खालमा निधारले अढेस लाउँदा
यहूदीहरुले अड्कल काटेको मेरो फीलिपिनी अनुहार-
तर आफ्नै अभिमानले अभिशप्त म "नेपाली"
महाकाली र दशगजाको सिमातिक्रमण सम्झिदै गर्दा
पेलेष्टिनीहरुको बारुदको धुँवामा देशरक्षाको अदम्य साहास देख्छु।

हौ लुंग्वा!
स्वभिमानको कात्रो ओढेर
मेरो निमेशको भारी फर्छ्यौटको नारा कानमा गुन्जिदा
आँखाका दृष्टिहरु सुक्खा पाउरोटी चपाउँदै गरेका
आधुनिक कृषकहरुको हूलमा पुग्छ।
गेगरभूमि माथि फलेका अंगुरका झुप्पाहरु-
मेरा आँखाको बाईरोड हुँदै आधुनिक सिप
दिमागी भ्यालीमा प्रवेश गर्छन्।

तेसो र लुंग्वा!
हाम्रो त टेरेलिनको गिदी रहेछ।
मार्सीधानको भाते आईरन लागेको-
जैतुनको दानाले छाक बस्ने यहूदीहरुसंग
भोकको सन्तुष्टि सिक्दैछु।
 
कठै! मेरो पाँगो माटो-शालिग्रामको खानी-
भूगर्भिक सुनको बोट धुरुधुरु रोईरहेछ ।
-सिमानामा ब्लकृत आमाको छाती-
सम्वेदना-आधुनिक चिन्तक र चिन्तनको खाँचोमा
-तेसो -ले
हौ लुंग्वा !
अब ! सन्चेतना र विश्वशको झुलो चक्मकले
आफ्नै दिमाग र पाखुराहरुमा आगो झोस्छु ।


 

1 comment: